मेलबर्न सिटी काउन्सिलद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक सहयोग दिने वाचा

कोरोनाभाइरस सङ्कटका कारण समस्यामा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मेलबर्न सिटी काउन्सिलले आर्थिक सहयोग गर्ने बताएको छ।

Nepali in Melbourne

Source: SBS Nepali

कोभिड-१९ महामारीबाट उत्पन्न आर्थिक सङ्कटबाट आफ्नो रोजीरोटी गुमाउन पुगेका लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू र अस्थायी भिसामा रहेकाहरूले सङ्घीय सरकारले आफूहरूलाई पनि “हेरिदिनु पर्ने” बताउँदै गर्दा, मेलबर्न सिटी काउन्सिलको उक्त भनाइ बाहिर आएको हो।

यो निर्णयसँगै मेलबर्न सिटी काउन्सिल अस्ट्रेलियाभर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक सहयोगको वाचा गर्ने पहिलो सरकारी निकाय बन्न पुगेको छ।

कति रकम र कसरी भुक्तानी हुने भन्ने बारेमा हाल केही स्पष्ट नभए पनि काउन्सिलरहरूले विदेशी विद्यार्थीहरूलाई सहयोग बारे मार्ग प्रशस्त गर्न काउन्सिलका कर्मचारीलाई भनिसकेको बताइएको छ।

विशेष गरेर, खुद्रा पसल तथा रेस्टुरेन्ट-बार एवं क्याफेहरूले सामाजिक दुरी लगायतका सार्वजनिक स्वास्थ्य सम्बन्धी ऐन कानूनका कारण कि त आफ्नो ढोका बन्द गरेका छन् वा टेक अवेका लागि आवश्यक पर्ने अति सीमित कर्मचारीहरू मात्र राखेर हाल सञ्चालन गरिरहेको परिप्रेक्ष्य त्यस्ता कार्यस्थलमा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरू आर्थिक मारमा परेका हुन्।
Why international students deserve a welfare package?
अन्तर्राष्ट्रिय विद्यार्थीहरू राहत प्याकेजका लागि किन योग्य छन्? Source: Council of International Students Australia
उनीहरू मध्ये धेरै जना क्याजुअल कामदारका रूपमा काम गर्ने हुँदा समस्या थप बोझिलो रहेको छ किनकि पार्ट टाइम वा फुल टाइम कर्मचारीको जस्तो बिदा लगायतका अन्य सुविधाहरू उनीहरूले पाउँदैनन्।

गत शुक्रवार मात्रै, प्रधानमन्त्री स्कट मरिसनले अस्थायी भिसा धारक तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, गरेका थिए।

"अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा, सबै विद्यार्थीहरू जो अस्ट्रेलिया आएका छन्, उनीहरूले आफ्नो अस्ट्रेलिया बसाइको कम्तीमा पनि पहिलो १२ महिनासम्मका धान्ने आर्थिक स्रोत देखाउनुपर्छ। यो कुरा उनीहरूको भिसाको एक सर्त हो। त्यसैले, सरकारको यो कुराको अपेक्षा गर्नु बेठिक होइन,” उनले पत्रकारहरूसँग भनेका थिए।

त्यसको लगत्तै, विद्यार्थी भिसा लगायत अन्य अस्थायी भिसा धारकहरूलाई अस्ट्रेलियामा बस्न कसैले बाध्य नपारेको भन्दै, प्रधानमन्त्री मरिसनले उनीहरू आफ्नो गृह राष्ट्र फर्केर जान मिल्ने धारणा राखेका थिए।
यस अघि, नेपाली समुदायबाट पनि कोरोना भाइरस सङ्क्रमणका कारण आफ्नो नियमित आम्दानी गुमाएका अन्तर्राष्ट्रिय सुरु गरिएको थियो।

तर, हाल अस्ट्रेलियाले आफ्नै नागरिक एवं स्थायी बासिन्दाहरूमा केन्द्रित रहनु पर्ने बताएका स्कट मरिसन भने अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका अस्थायी बासिन्दाहरू प्रति नरम देखिएका छैनन्।

उनले “यहाँ बस्न गाह्रो भए, आफ्नै देश जाऊ” भन्ने आशयको सन्देश दिएको भोलि पल्ट - शनिवारका दिन - कार्यवाहक अध्यागमन मन्त्री एलन टजले पुनः एक पटक सोही सरकारी लाइन दोहराए पनि हाल अस्थायी भिसामा रहेकाहरूको भिसा शर्तहरू केही खुकुलो पारिएको तर्फ पनि केन्द्रित हुन उनले विद्यार्थी लगायतकालाई आग्रह गरे।

“आम अस्ट्रेलियालीहरूका लागि उपलब्ध रहेका सामाजिक सुरक्षा भत्ताहरू अस्थायी भिसामा यहाँ रहेकाहरूका लागि उपलब्ध नरहेता पनि स्वास्थ्य, वृद्ध स्याहार, अपाङ्गता स्याहार, कृषि, सुपर मार्केट र खाद्य प्रशोधन लगायतका प्रमुख उद्योगहरूमा काम गर्न पाउने अवधि अहिलेलाई बढाइएको छ,” टजले शनिवार भनेका थिए।
साथै, अस्ट्रेलियामा काम गर्ने अनुमति पाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो सुपरएनुएसनबाट १० हजार डलरसम्म झिक्न पाउने व्यवस्था तर्फ पनि ध्यान दिनुपर्ने पनि उनले बताएका थिए।

“अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियाका लागि ठुला योगदानकर्ता हुन्, उनीहरूले अस्ट्रेलियाली रोजगारीलाई टेवा दिएका छन्।”

टजका अनुसार सरकार हाल आउँदा दिनहरूमा के-कस्ता व्यवस्थाहरू गर्न मिल्छ, त्यस बारे अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवालाहरूसँग मिलेर काम गरिरहेको छ।
यसै बिच, मेलबर्न सिटी काउन्सिलको गए मङ्गलवार राती बसेको बैठकमा नगर पार्षदहरूले आफ्नो सहरका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले गरेको योगदानलाई कदर गर्दै एक प्रस्तावको समर्थन गरे जसमा ती विद्यार्थीहरूलाई सहयोग पुर्‍याउने विभिन्न उपायहरूको रूपरेखा रहेको छ।

मेलबर्नकी मेयर स्याली क्यापले ती दुख:मा परेका विद्यार्थीहरूका लागि सङ्घीय एवं राज्य सरकारहरू मिलेर एक कष्ट निवारण कोष स्थापना गरिनुपर्ने बताउँदै बरु त्यसका लागि आफ्नो काउन्सिल, अन्य स्थानीय निकाय, विश्वविद्यालयहरू र निजी क्षेत्रसमेत मिलेर सहयोग गर्न तम्तयार रहेको प्रस्ट पारेकी छिन्।

“हरेक वर्ष, मेलबर्न हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई खुला हृदयले स्वागत गर्छ। उनीहरू हाम्रो सहरको एक अति नै महत्त्वपूर्ण हिस्सा रहेका छन्। यो केवल उनीहरूको आर्थिक योगदानको कारण मात्र कदापि होइन, हाम्रो समुदायमा उनीहरूको मूल्याङ्कन उच्च छ,” क्यापले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्।
Nepali Students Melbourne International
International students are wary of the times ahead Source: Abhas Parajuli
धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अग्रपङ्क्तिमा रहेर अस्ट्रेलियाको कोरोनाभाइरस सङ्कटमा ठुलो मद्दत गरिरहेको उल्लेख गर्दै ती योगदानहरू समुदायका सबैजनाले बुझ्नु पर्ने समेत उनले बताएकी छिन्।

“धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कोभिड-१९ विरुद्ध लडाइको सबैभन्दा अगाडी उभिएर महत्त्वपूर्ण भूमिका खेलेका छन् - अनुसन्धानकर्ता, विद्यार्थी नर्सहरू, इंटर्न डाक्टरहरू, अस्पतालमा स्वयंसेवकहरू र अन्य स्वास्थ्य सेवा प्रदायकहरूको रूपमा।”

विषम परिस्थितिको यस घडीमा आफूहरूले त्यस्ता अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्नै पर्ने बताउँदै सङ्घीय एवम् राज्य सरकार दुवैसँग मिलेर अगाडी बढ्ने आसा पनि लर्ड मेयर स्याली क्यापले लिएकी छिन्।
Lord Mayor of Melbourne Sally Capp speaks to media during a preview of the 66th annual Moomba Festival in Melbourne, Wednesday, February 12, 2020. (AAP Image/James Ross) NO ARCHIVING
Lord Mayor of Melbourne Sally Capp Source: AAP
नगर परिषद्को बैठकमा प्रस्ताव पेस गर्ने पार्षद फिलिप ले लिऊका अनुसार, मेलबर्न सिटी काउन्सिल शैक्षिक संस्था, विद्यार्थीहरूको हक हित बारे काम गर्ने सङ्गठनहरू र छात्रवास सञ्चालक जस्ता सरोकारवालाहरूसँग मिलेर अगाडी बढ्ने छ।

“मेलबर्नमा १७० भन्दा बढी मुलुकका दुई लाखभन्दा पनि बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू बसोबास गर्छन्, ती मध्ये ५२,००० त हाम्रो सहरको मुख्य भागमा मात्र पढ्ने बस्ने गर्छन्,” लिऊले भने।

यसका साथै, सिटी काउन्सिलले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अनलाइन सहायता सेवा प्रदान गर्दै आएको नामक एक संस्थासँग पनि आफ्नो सहकार्य जारी रहेको बताएको छ।

त्यसै गरी, उसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग आफ्नो सम्पर्क थप सुदृढ गर्ने र कार्यक्रमको एक विशेष संस्करण पनि सञ्चालन गर्नेछ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई राम्रो व्यवहार नगरिएकोमा रोष: "नसके घर जाऊ भन्दैमा हुँदैन"

The Federal Government will allow international students back into the country in a "pilot basis" from next month.
The Federal Government will allow international students back into the country in a "pilot basis" from next month. Source: Getty Images


मेलबर्न सिटी काउन्सिलको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने कदमको इन्टरनेशनल एजुकेसन एसोसिएसन (आईईए) भनिने अन्तर्राष्ट्रिय शिक्षा सङ्घले स्वागत गरेको छ।

भिक्टोरियाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्ष मात्र करिब १२ अर्व डलरको योगदान पुर्‍याएको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका महत्त्वपूर्ण कडीका रूपमा रहेका विद्यार्थीहरूलाई राम्रो व्यवहार नगरिएकोमा सङ्घका प्रमुख कार्यकारी फिल हनीवूडले रोष व्यक्त गरे।

न्युजिल्याण्डले आफूकहाँ रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँको जबकीपर भत्ता बराबर नै सहयोगमा पहुँच दिएको र उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गराउन सक्छ भने यहाँ त्यसो किन गर्न सकिँदैन भन्ने प्रतिप्रश्न समेत उनले गरे।

प्रधानमन्त्री स्कट मरिसनले घर जाऊ भन्दैमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यसो गर्न हाल सजिलो नरहेको बारेमा समेत सबै जना सचेत हुनुपर्नेमा उनले जोड दिए।

कि त उडानहरू रद्द भएका छन् कि त विद्यार्थीहरू चर्को रकम तिरेर घर फर्किने अवस्थामा छैनन् भन्दै हनीवूडले अस्ट्रेलियामा यस विषयलाई लिएर मानवीयताको खडेरी परेको बताए।

“अब यस्तै हो भने, अबका केही हप्ता भित्र नै उचित सहयोगको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सडकमा पुगेको दृश्य हामीले हेर्न पाउनेछौँ।”
rajesh fuyal, ashok sharma, sankar mahato and krishna nepali at federation square
मेलबर्नका केही नेपाली विद्यार्थी (फाइल फोटो ) Source: आभास पराजुली
मेलबर्न सिटी काउन्सिलका एक अर्का पार्षद निकोलास रीइसका अनुसार भने प्रधानमन्त्रीको भनाइको धेरै तिर गलत व्याख्या भएको छ र निकै अप्ठेरो स्थितिमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यसले झनै मर्माहत तुल्याएको छ।

“मेलबर्नका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त त्यसले झन् घाउ माथि नून खुर्सानी छरिदिए जस्तो भएको छ,” रीइसले भने।

“हामी मुटु माथि हात राखेर भन्न चाहान्छौं कि हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई माया गर्छौँ, उनीहरूलाई स्वागत छ, हामी उनीहरूलाई खुला हृदयले स्वागत गर्दछौँ।"

विश्वविद्यालयहरूद्वारा सहायता कोष स्थापना

La Trobe Univeristy campus
Source: Bridietmckenzie CC BY-SA 4.0


यसै बिच, अस्ट्रेलियाभरका विभिन्न विश्वविद्यालयहरूद्वारा कोरोनाभाइरस सङ्कटका कारण कठिन परिस्थितिको सामना गर्दै गरेका अन्तर्राष्ट्रिय तथा स्थानीय दुवै किसिमका विद्यार्थीहरू लक्षित आपत्कालीन राहत कोष एवं खाद्यान्न ब्याङ्क स्थापना गरेका छन्।

भिक्टोरियाको मोन्याश विश्वविद्यालयले डेढ करोड डलरको सहायता प्याकेज घोषणा गरेको छ जसबाट विद्यार्थीहरूले ७,५०० डलरसम्म सहायता रकम प्राप्त गर्न सक्ने बताइएको छ भने आपतकालिन अवस्थाका लागि उसले ५०० डलर तत्काल उपलब्ध हुने गरी व्यवस्था गरेको बताएको छ।

त्यसै गरी भिक्टोरियामा नै रहेका फ्लिनडर्स विश्वविद्यालयले १.२५ करोड, आरएमआइटीले एक करोडको सहायता कोष खडा गरिसकेका छन्।
वेस्टर्न सिड्नी विश्वविद्यालयले चाहिँ हाल अस्ट्रेलियामा नै रहेका आफ्ना अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई शुल्कमा १० प्रतिशत छुट दिएको बताइसकेको छ।

अर्को भिक्टोरियाली विश्वविद्यालय - डीकिनले भने गएको एक हप्तामा मात्रै १,५०० विद्यार्थीहरूले सहायता रकम माग गरेकोमा ७०० भन्दा बढीको निवेदन स्वीकृत भैसकेको दी अस्ट्रेलियनले जनाएको छ।

उक्त प्रकाशनका अनुसार, मर्डक विश्वविद्यालयले खाँचै परेका विद्यार्थीहरूलाई एक हजार डलर ऋण सापटी दिने र थप दुई हजार डलरसम्मको अनुदान समेतको व्यवस्था गरेको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।


 


Share
Published 9 April 2020 4:18pm
Updated 11 April 2020 2:42pm

Share this with family and friends