“सङ्कटमा रहे घर फर्क” भन्ने सल्लाहले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अलपत्र पारेको भन्दै मरिसन सरकारको आलोचना

آلن تاج کفیل وزیر مهاجرت، شهروندی،  خدمات مهاجرت و امور چندفرهنگی استرالیا

آلن تاج کفیل وزیر مهاجرت، شهروندی، خدمات مهاجرت و امور چندفرهنگی استرالیا Source: AAP

Get the SBS Audio app

Other ways to listen

आर्थिक मारमा परेका अस्थायी बासिन्दाहरूलाई सरकारको पछिल्लो भनाइले झनै अन्योलमा पारेको बताउँदै, धेरै विदेशीहरूले आफूहरू स्वदेश फर्किने अवस्थामा नरहेको र सुपरएनुएशन एवम् निःशुल्क स्वास्थ्य सेवासम्म पहुँच नरहेका कारण थप समस्या आइपरेको गुनासो व्यक्त गरेका छन्।


गत शुक्रवार, कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसाका साथ अस्ट्रेलियामा रहेकाहरूले आफ्नो देश फर्किने बारे सोच्नुपर्ने भनी प्रधानमन्त्री स्कट मरिसनले बताएको भोलिपल्ट, कार्यवाहक अध्यागमन मन्त्री एलन टजले पनि सरकारको उक्त विचारलाई दोहोर्‍याएका छन्।

यसका साथ, देशभरका विभिन्न व्यवसायहरू बन्द भएका कारण आफ्नो जागिर गुमाएका र मेडिकेयर लगायतका सरकारी सामाजिक सहायता नपाउने अवस्थामा रहेकाहरूले चाहिँ, सरकारको उक्त भनाइले आफूहरूलाई निराश बनाएको बताएका हुन्।

अस्ट्रेलियामा कोरोनाभाइरसको सङ्क्रमण र सरकारी कदम बारे दैनिक जसो आयोजना हुने पत्रकार सम्मेलनका क्रममा गत शुक्रवार बोल्दै, प्रधानमन्त्री स्कट मरिसनले, सङ्घीय सरकार अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरूको हितका लागी केन्द्रित रहेको बताएका थिए।

कोरोनाभाइरसका कारण देशमा देखिएका आर्थिक समस्यामा हाल यहाँ रहेका लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसा रहेकाहरूका लागि चाहिँ कस्तो सहयोग सरकारले उपलब्ध गराउन सक्छ त भनेर सोधिएको प्रश्नबारे जवाफ दिँदै, मरिसनले सङ्कटमा रहेका विदेशीहरू आफ्नै देश फिर्ता हुनु नै सर्वोत्तम हुने सल्लाह दिएका थिए।
प्रधानमन्त्रीकै जस्तो भनाइ, एक दिन पछि उनका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले पनि राखे।

आम अस्ट्रेलियालीहरूका लागि उपलब्ध रहेका सामाजिक सुरक्षा भत्ताहरू अस्थायी भिसामा यहाँ रहेकाहरूका लागि उपलब्ध नरहेता पनि स्वास्थ्य, वृद्ध स्याहार, अपाङ्गता स्याहार, कृषि, सुपर मार्केट र खाद्य प्रशोधन लगायतका प्रमुख उद्योगहरूमा बढी समय सम्म काम गर्न पाउने गरी भिसा व्यवस्थामा पनि लचकता लागू गरिएको मन्त्री टजको भनाई थियो।

साथै, अस्ट्रेलियामा काम गर्ने अनुमति पाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो सुपरएनुएशन बचतबाट १० हजार डलरसम्म झिक्न पाउने पनि उनको भनाइ थियो।
तर आप्रवासी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धी निकायहरूले चाहिँ मरिसन सरकारको उक्त भनाइको आलोचना गरेका छन्।

आर्थिक मारमा परेका अस्थायी बासिन्दाहरूलाई सरकारको उक्त पछिल्लो भनाइले झनै अन्योलमा पारेको बताउँदै, धेरै विदेशीहरू आफ्नो घर फर्किने अवस्थामा नरहेको र धेरैले सुपरएनुएशन र स्वास्थ्य सेवा प्रयोग गर्न नसक्ने अवस्थाको पनि सामना गर्नुपरेको उनीहरूको भनाइ छ।

माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख म्याट कुन्केल भन्छन्, “कोरोनाभाइरसको सङ्कटका माझ सुरु गरिएका तलब सहुलियत र अन्य कल्याणकारी भत्तामा अस्थायी भिसा रहेकाहरूलाई समावेश नगराउँदा, मरिसन सरकारले उनीहरूलाई अलपत्र अवस्थामा पारेको छ।”

सरकारले जानीजानी १० लाखभन्दा बढीको सङ्ख्यामा रहेका ती मानिसहरूको अवस्था बारे आफूहरू अनभिज्ञ रहेको देखाउने प्रयास गरिएको पनि उनले आरोप लगाए।
त्यस्तै भनाइ अन्तर्राष्ट्रिय विद्यार्थीहरूको राष्ट्रिय महासङ्घकी ओलेना न्युवेनको पनि रहेको छ।

आफ्नो भविष्यबारे पनि अनिश्चित अवस्थामा रहेकी न्युवेनले पनि गएका दुई वर्षदेखि काम गर्दै आएकी रेस्टुरेन्टबाट जागिर गुमाउनु परेको थियो।

यस कारण आगामी महिनाहरूमा आफ्नो अवस्था कस्तो रहने बारे आफू धेरै चिन्तित रहेको उनी बताउँछिन्।

“पढाइमा हुन सक्ने ढिलाइ र भिसाका शर्तहरु तोड्न सक्ने चिन्तामा पनि रहेका विद्यार्थीहरूले मानसिक चुनौतीहरूको पनि बढ्दो सामना खेप्नुपरिरहेको छ,” न्युवेनले भनिन्।
Nepali Students Melbourne International
International students are wary of the times ahead Source: Abhas Parajuli
अर्को तर्फ, आफ्नो देश फिर्ता हुन चाहनेहरूका लागि पनि अवस्था सजिलो रहेको छैन।

नेपाल लगायतका देशहरूले आफ्नो सीमा बन्द वा प्रवेशमा कडाइ गर्दा धेरैलाई अस्ट्रेलियामै रहनु बाहेकको विकल्प हाल नरहेको बताउँछन्, अध्यागमन एजेन्ट मिगेल मडबिड्री।

साथै, अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रतिको सरकारी कदमले भविष्यमा अस्ट्रेलियाको उच्च शिक्षा उद्योगमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि मडब्रिडीले दिएका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।


Share