नेपाल सुपर सिक्समा पर्न सकेन र रास्वपा स्थापनाको एक वर्ष: गत सात दिन नेपालमा

A moment from the first innings of Nepal vs Netherlands in the World Cup Qualifiers.

A moment from the first innings of Nepal vs Netherlands. Source: Facebook / Cricket Association of Nepal-CAN

Get the SBS Audio app

Other ways to listen

नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ। शनिवार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएसँगै सुपर सिक्समा पुग्न नसकेको हो। यो लगायत नेपालबाट पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।


राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो स्थापना दिवस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो वार्षिकोत्सव मनाएको छ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा रास्वपाले प्रतिनिधिसभामा मात्र भाग लिएको थियो। पार्टी स्थापना भएको पाँच महिनामै २० सिट ल्याउँदै प्रतिनिधिसभाको चौथो ठूलो दलको रूपमा स्थापित भएको रास्वपाको हाल २१ सिट रहेको छ।
NEPAL-PARLIAMENT-VOTE Rabi Lamichhane
In this picture taken on November 12, 2022, former television host and Independent Party's candidate in Nepal's general election Rabi Lamichhane waves during a door-to-door election campaign event in Padampur. Source: AFP / PRAKASH MATHEMA/AFP via Getty Images
स्थापना दिवसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले जनताले परिवर्तन खोजेकै कारण पार्टी स्थापना गरेको बताए।

"सुरुवात गर्दा विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको हामीलाई त्यत्ति धेरै हेक्का थिएन," उनले भने।

"समाजले परिवर्तन खोजेको छ भन्ने जानकारी हामीलाई थियो तर साँच्चि नै समाज अब चाहिँ परिवर्तनको लागि तयारै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जाहेर गर्छ भन्ने स्पष्ट सङ्केत हाम्रो भाषामा भन्नु पर्दा घण्टी बजिसकेको छ।"

उक्त अवसरमा पूर्व ब्याङ्कर अनिल केशरी शाह पनि रास्वपा प्रवेश गरे। उनलाई पार्टीले प्रशिक्षण विभागको जिम्मेवारी दिएको छ।

पार्टी प्रवेश गरेकै दिन सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाहले भने, "रास्वपा र मेरो विचार मिलेकोले मैले पार्टी प्रवेश गरेको हो। यहाँ मेरो जुन सिप छ त्यसलाई ट्याक्कै प्रयोग गर्न सक्छु भन्ने लागेर म आएको हो।"

विभिन्न दलका नेताहरू रास्वपाको पार्टी कार्यालय पुगेर सो पार्टीका नेताहरूलाई बधाई तथा शुभेच्छा दिएका थिए। त्यस्तै मध्येका एक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जनताले नयाँ खोजेको र अब आउने निर्वाचनमा नयाँ दल अगाडी आउने बताए।

"बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छ तर अहिले नेपाली जनताले चाहेको भनेको नयाँ हो। त्यो भनेको अग्रगमन हो," उनले भने।

"अब आउने २०८४को निर्वाचनमा नयाँ दलले नै नेतृत्व लिनेछ। कुन भनेर म अहिले नै त भन्दिन तर नयाँ दलले नै नेतृत्व लिनेछ।"
भारतको नक्साबारे परराष्ट्र मन्त्रीसँग सोधपुछ

नेपाल सरकारले भारतले अखण्ड भारत भनी राखेको नक्साको बारेमा बुझेर सरकारलाई त्यसबारे प्रतिवेदन बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको सरकारका एक मन्त्रीले बताएका छन्।

मङ्गलवार प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा सरकारसँग जानकारी लिएको थियो।

सोही बैठकमा सांसदहरूले भारतको नक्सा र त्यसबारे सरकारको धारणाबारे परराष्ट्रमन्त्री एनपी साउदसँग प्रश्न गरेका हुन्।

"हामीले यस विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन हुन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जनाकारी गराउँदछु," उक्त बैठकमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले बताए।

प्रधानमन्त्रीको भारत भ्रमणको समयमा र त्यसयता भारतको नक्सा र नेपाल-भारत सीमाबारे निकै चर्चा र चासो बढेको छ।
नेपाल विश्वकप छनोटबाट बाहिरियो

विश्वकप छनोटका खेल खेल्न जिम्बाब्वे पुगेको नेपाल पहिलो चरणबाटै बाहिरिएको छ।

जिम्बाब्वे र वेस्ट इन्डिज जस्ता बलिया टोलीसँगको समूहमा परेको नेपालले चार खेल खेल्यो जसमा एउटामा विजयी भयो। जिम्बाब्वे र वेस्ट इन्डिजसँग हारेको नेपालले अमेरिकालाई भने पराजित गरेको छ।

सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्न शनिवार भएको खेलमा नेदरल्यान्डसलाई जित्नै पर्ने अवस्थामा रहेको नेपालले उल्लेखनीय प्रदर्शन गर्न नसके पछि सात विकेटले पराजित भएको हो।

यस समूहबाट जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्यान्डस अघिल्लो चरण अर्थात् सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन्। नेपालले अब अन्तिम खेलको रूपमा युएईसँग प्लेअफ खेल्ने छ।

सुपर सिक्समा प्रत्येक समूहका तीन टोलीले अर्को समूहका तीन टोलीसँग खेल्ने छन्। यसरी शीर्ष दुईमा पुगेका टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने आइसीसी विश्वकप क्रिकेटका लागि छनोट हुने छन्।
पोखरमा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडान

पोखरा विमानस्थलमा पहिलो अन्तराष्ट्रिय उडान सम्पन्न भएको छ। बुधवार चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज पोखरा अवतरण गरेको हो।

जनवरी एकबाट सञ्चालनमा आएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान नियमित रुपमा भइरहेको भए पनि हालसम्म अन्तराष्ट्रिय उडान हुन सकेको थिएन।

पोखरा विमानस्थलमा चीनबाट जहाज आएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ले पोखरा विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई परियोजना अन्तर्गत भएको बताए।

उक्त विमानस्थल निर्माण गर्नका लागि चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीसँग नेपाल सरकारले २०७३ सालमा सम्झौता गरेको थियो। त्यसका लागि नेपाल सरकारले चीनको एक्जिम बैङ्कसँग २०७२मा ऋण लिएको थियो।
समाजवादी मोर्चा गठन

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्।

सोमवार काठमान्डुमा आयोजित एक कार्यक्रममा यी चार दलले साझा मुद्दा, उद्देश्य र लक्ष्यहरूको प्राथमिकताका आधारमा अघि बढ्ने भन्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन्।

घोषणा पत्रमा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले गर्ने र साझा नीति तथा कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ।

मोर्चाको विस्तार गर्नका लागि एक समिति गठन गरिने, जसले प्रदेश तथा स्थानीय तहसम्म मोर्चा विस्तार गर्ने बताइएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा बनाउनुको साटो समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार राखेका थिए।
"हामीले कहाँ त्रुटि गर्‍यौँ? एक पटक समीक्षा गरौँ। त्यति बेला समाजवादी मोर्चा बनाएको भए हुन्थ्यो कि, पार्टी एकता गर्न हतारो पो गरेछौँ कि? यो एउटा गम्भीर प्रश्न छ, वामपन्थी, प्रगतिशीलले सोच्नुपर्ने भएको छ," उनले भने।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आ-आफ्नो दलहरूको विचार दृष्टिकोण रहेको तर चार दल मिलेर साझा मुद्दाहरूलाई अगाडी बढाउने बताए।

समाजवादी मोर्चा बन्ने विवरणहरू आए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी ‌शर्मा ‌ओलीले मोर्चाको दुई वटा उद्देश्य भएको बताएका थिए।

गत साता एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा एमालेसँग मुकाबला गर्न र नेपाली काँग्रेसलाई तर्साउन बनाइएको बताएका थिए। ‌

"यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन। हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौँ। यो कसैको विरुद्धमा लक्षित छैन," ओलीको उक्त अभिव्यक्तिलाई लक्षित गर्दै यादवले बताए।
नेपाली युवा रुसी सेना प्रवेश गरेको विषय उठाए सांसदले

नेपाली युवाहरू रुसी सेनामा प्रवेश गरेका विवरणहरू केही नेपाली सञ्चार माध्यमहरूमा आएका छन्। यस विषयमा सरकारको आधिकारिक धारणा भने आएको छैन।

यसै सिलसिलामा सदनमा यो विषय प्रवेश गरेको छ। विभिन्न दलका सांसदहरूले यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रधानमन्त्रीसँग भएको सांसदहरूको प्रश्नोत्तरमा सांसद अच्युत मैनालीले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, "रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारको जवाफ चाहन्छु।"

राष्ट्रपतिले राखे पेसमेकर

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको चिकित्सकहरूले बताएका छन्।

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्क्युलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मङ्गलवार दिउँसो एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन्।

विज्ञप्तिका अनुसार राष्ट्रपतिलाई ७२ घण्टा नियमित निगरानीमा राख्दा मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि पेसमेकर राखिएको हो।
नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

नेपाल सन् २०२३को साफ च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको छ।

भारतको बैंगलोरमा भएको साफ च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गर्ननसकेको हो।

पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको नेपाललाई शनिवारको खेल जित्नै पर्ने अवस्था थियो। तर आयोजक भारतसँग नेपाल २-० ले पराजित भएको हो।

भारतले दुवै गोल दोस्रो हाफमा गरेको हो। उक्त नतिजासँगै नेपालको यात्रा टुङ्गिएको छ। नेपालले समूह चरणको अन्तिम खेल मंगलवार पाकिस्तानसँग खेल्ने छ।

Share