अस्ट्रेलिया-युके खुला व्यापार सन्धि: ब्रिटिस ह्विस्की र गाडी लगायतका सामान सस्तो हुने

दुई देश बिच हुने व्यापार बारे सैद्धान्तिक सम्झौतामा हस्ताक्षर भएपछि बेलायतमा निर्मित कार, स्कच ह्विस्की लगायतका अन्य सामान अस्ट्रेलियामा सस्तो हुने बताइएको छ।

PABEST Prime Minister Boris Johnson with Australian Prime Minister Scott Morrison in the garden of 10 Downing Street, London, after agreeing the broad terms of a free trade deal between the UK and Australia, the UK's first trade deal negotiated fully sinc

Johnson, Morrison in the garden of 10 Downing St London Source: Press Association

प्रधानमन्त्री स्कट मोरिसनले लन्डनमा आफ्नो बेलायती समकक्षी बोरिस् जन्सनसँग दुई देश बिच हुने व्यापार बारे सैद्धान्तिक सम्झौतामा हस्ताक्षर गरेका छन्।

योसँगै बेलायतमा निर्मित कार, स्कच ह्विस्की लगायतका अन्य सामान अस्ट्रेलियामा सस्तो हुने मोरिसनले बताएका हुन्।

साथै अस्ट्रेलियाका किसानहरूले बेलायती पसलहरूमा आफ्नो उत्पादनहरू अधिक रूपमा बेचिएको देख्न पाउने उनको भनाई छ।

"मैले भनेको थिएँ कि हामी सही सम्झौताको लागि पर्खन्छौँ, र मलाई लाग्छ कि हामीले युके र अस्ट्रेलिया बिच सही सम्झौता पाइसकेका छौ," अघिल्लो रात रात्रि भोजको दौरान आयोजित बैठकमा ब्रिटिस प्रधानमन्त्री जन्सनसँग एक सैद्धान्तिक सम्झौतामा दुवै नेताहरूले सहिछाप गरेपछि, प्रधानमन्त्री मोरिसनले मङ्गलवार बिहान १० डाउनिंग स्ट्रिटको बगैँचामा पत्रकारहरूलाई भने।

"हाम्रो अर्थव्यवस्था यी सम्झौताहरूद्वारा बलियो भएको छ।"

स्कट मोरिसनले उक्त सम्झौतालाई दुई देश बिच भएका व्यापार सन्धिहरू मध्ये सबैभन्दा व्यापक र महत्त्वाकाङ्क्षी रहेको समेत उल्लेख गरेका छन्।
यस बारेमा बेलायती प्रधानमन्त्री जन्सनले ठट्टा गर्दै भने, "यो सम्झौता खासमा तपाईँहरूले टिमट्याम (चकलेट लेप भएको बिस्कुट) हामीलाई दिने र हामीले तपाईँलाई त्यसको बदलामा पेन्ग्युइन (चरा) दिने हो; तपाईँ हामीलाई भेजिमाइट (पाउरोटीमा दल्ने प्रोटिनले भरपुर एक विशेष खाद्य पदार्थ) दिनुहुन्छ र हामी तपाईँलाई मार्माइट (भेजिमाइट जस्तै तर बेलायती उत्पादन); हामी तपाईँलाई बर्बेरी (महँगो फेशन ब्रान्ड) र म्याकिन्टोशहरू (पानीबाट बच्न लगाइने एक विशेष प्रकारको लामो कोट) दिन्छौँ र तपाईँले हामीलाई आरएम विलियम्स जापारा (अस्ट्रेलियामा मात्र बन्ने एक विशेष जुत्ता) दिनुहुनेछ।"

उक्त सम्झौताले थप अस्ट्रेलियालीहरूलाई ब्रिटेनमा बस्ने, काम गर्ने अनुमति दिनेछ भने निर्यातकर्ताहरुलाई थप बजारका विकल्पहरूलागि मार्ग प्रशस्त गर्ने बताइएको छ।

यसका साथै, बेलायती ब्याकप्याकरहरूलाई भिसा अवधि थप गर्नु अघि अस्ट्रेलियामा ८० दिनसम्म स्थानिय कृषि फार्ममा काम गर्नुपर्ने आवश्यकता पनि खारेज हुनेछ।
London Thames, United Kingdom
Source: Creative Commons
बोरिस् जन्सनका अनुसार नयाँ व्यापार सन्धिबाट अस्ट्रेलियालीहरूलाई ब्रिटेन गएर काम गर्न पनि सहज हुनेछ।

दुई देश बिच भएको सम्झौताले पूर्ण आकार पाइसकेको छैन र लागू हुनु पूर्व अस्ट्रेलिया एवम् बेलायती संसद्ले यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।

स्कटल्यान्डका व्यापार मन्त्री इभान मक्कीले ट्विट गर्दै भनेका छन् कि उनलाई बेलायत सरकारले मङ्गलवार बिहान वेल्स र उत्तरी आयरल्यान्डका मन्त्रीहरूसँगै सम्झौताको बारेमा जानकारी गराउनु पर्ने थियो।

"सम्झौताबारे पर्याप्त काम नभएको कारण हामीसँगको बैठक पछि धकेलिएको जानकारी दिइएको छ," उनले ट्विटरमा लेखेका छन्।
तर मोरिसनले भने अस्ट्रेलियाका उपभोक्ताहरूले तत्काल सस्तो उत्पादनबाट फाइदा लिने बताउँछन्।

उनी भन्छन् कि कार, ह्विस्की र युकेको अन्य निर्यातमा लागू अन्तःशुल्क तुरुन्तै अन्त्य हुनेछ।

"अस्ट्रेलियाबाट आयात हुने ९९ प्रतिशत सामानमा युके नरम हुनेछ जसमा सम्झौता कार्यान्वयन हुनासाथ बेलायतमा अस्ट्रेलियाली वाइन अनि सानो तथा मझौला चामलमा कुनै भन्सार तिर्नुपर्ने छैन," मोरिसनले भने।

तर अस्ट्रेलियाली मासुजन्य उत्पादनमा भने भन्सार शुल्क आगामी १५ वर्ष भित्र क्रमिक रूपले हटाउँदै लगिने छ।

बेलायती कृषकहरूले यसबारे चिन्ता व्यक्त गरेपछि उक्त समय सीमा तोकिएको हो।
उता, बोरिस् जन्सन भन्छन् कि बेलायती नागरिकहरूले अस्ट्रेलियामा निकै मन पराइएको ज्याकोब्स क्रिक र हार्डिज जस्ता लोकप्रिय वाइन लगायत मिठा खानेकुराहरू र समुद्रमा पौडिन लगाइने पोशाकहरुका लागि अब धेरै रकम खर्च गर्नुपर्ने छैन।

यसै गरी अस्ट्रेलियाले पनि इङ्गल्यान्डमा निर्मित सवारीसाधन र स्कटल्यान्डको ह्विस्कीमा पाँच प्रतिशतसम्मको भन्सार शुल्क मिनाहा गर्ने छ।

औद्योगिक समूहहरूका अनुसार सन् २०१९ मा संयुक्त अधिराज्यले २०,००० थान सवारीसाधन अस्ट्रेलिया निर्यात गरेको थियो र स्कच ह्विस्कीको लागि अस्ट्रेलिया विश्वकै आठौँ ठुलो बजार रहेको छ।
JENNIFER WESTACOTT PRESS CLUB
Source: AAP
बिजनेस काउन्सिल अफ अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत जेनिफर वेस्टाकोट भन्छिन् कि कीर्तिमानी सन्धि अस्ट्रेलियाको लागि ठुलो जित हो।

विशेष गरेर ५० वर्ष यता युके बजारबाट हात धुन पुगेको अस्ट्रेलियाली उत्पादनहरूले पुनः बेलायती बजारमा ठाँऊ पाउनु महत्त्वपूर्ण रहेको उनको भनाई छ।

"ब्रेक्जिट पछि युकेको सबैभन्दा महत्त्वाकाङ्क्षी व्यापार पार्टनर हुने कुरामा अस्ट्रेलिया अग्रपङ्क्तिमा उभिएको छ," वेस्टाकोटले एक वक्तव्यमा भनेकी छिन्।

Share
Published 16 June 2021 3:19pm
Updated 16 June 2021 3:50pm


Share this with family and friends