पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ र नेपाल रग्बीले पायो विश्व रग्बीको पूर्ण सदस्यता: गत सात दिन नेपालमा

nepal news (1).jpg

Police personnels detained former home minister "Bal Krishna Khand" in charge of fake Bhutanese refugee scam. (Photo by Abhishek Maharjan/Sipa USA) / Members of civic society groups shout slogans during a protest against fake Bhutanese refugee corruption case in Kathmandu.(EPA/NARENDRA SHRESTHA)

Get the SBS Audio app

Other ways to listen

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा प्रहरीले पक्राउ गरेको छ। साथै नेपाल रग्बी एसोसिएसनलाई विश्व रग्बी काउन्सिलले पूर्ण सदस्यता दिएको छ।यो लगायत पछिल्ला सात दिनका प्रमुख समाचार नेपाल संवाददाता प्रतिक्षा दुलालबाट सुन्नुहोस्।



नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता

नेपाल रग्बी सङ्घले विश्व रग्बी सङ्घको पूर्ण सदस्यता प्राप्त गरेको छ। नेपाल रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेका अनुसार विश्व रग्बी सङ्घले बिहीबार नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको हो। शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले उक्त जानकारी दिएका हुन्। सन् २०१४मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८मा पूर्ण सदस्यता पाएको थियो। त्यसयता नेपाल रग्बी सङ्घले 'गेट इन्टु रग्बी' कार्यक्रम सञ्चालन गर्दै घरेलु गतिविधि बढाउँदै आएको थियो।



सुवास तामाङ अस्ट्रेलियामा
नेपालका नम्बर एक एमेच्योर गल्फ खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकेडेमी प्रशिक्षणमा सहभागी कुन अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनलाई शनिवार नेपाल गल्फ सङ्घका अध्यक्ष टासी घलेले बिदाइ गरे। सुवास मे १५ देखि १९ सम्म मेलबर्नमा आयोजना हुने विशेष प्रशिक्षणमा सहभागी हुने छन्। यस्तै अक्टोबर २६ देखि २९सम्म रोयल मेलबर्न गल्फ क्लबमा आयोजना हुने प्रतियोगितामा सुवास र सद्भाव आचार्यले नेपालको प्रतिनिधित्व गर्ने नेपाल गल्फ सङ्घले जनाएको छ।



नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्व गृहमन्त्री खाँड प्रहरीद्वारा पक्राउ, तटस्थ छानबिन गर्न नागरिकको माग

‍‍नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले नेपाली काँग्रेसका शीर्ष नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई हिरासतमा लिएको छ। खाँड समातिएपछि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउनले प्रकरणमा अझै केही उच्च ओहदाका व्यक्तिहरू संलग्न रहेको हुन सक्ने आशङ्का अझ बढेको छ।

यसैबिच पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा राणा र खाँडकी श्रीमती एवं सांसद मञ्जु खाँड बिच यसै विषयमा जोडिएको एउटा अडियो टेप पनि सार्वजनिक भएको छ। जुन सत्य नभएको राणाले दाबी गरेकी छन्। उक्त अडियो सार्वजनिक भए लगत्तै उनी देश छोडेर भागेको भन्ने विवरणहरू पनि आएका थिए तर त्यस पछि विभिन्न सञ्चार माध्य मार्फत उनले आफू नेपालमै रहेको बताएकी छन्।

प्रहरीले व्यापक रूपमा खोज्दा पनि नेकपा एमालेका सचिव एवं पूर्व उप प्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझीलाई भेटाउन सकेको छैन। प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेको लामो समय भइसकेको छ। रायमाझीले आफू अस्वस्थ रहेकाले सदनमा आउन नसकेको पत्र पठाएका छन्।

यस प्रकरणलाई अन्तर्राष्ट्रिय जगत् र नेपाली जनताले खुब चासोका साथ हेरि रहेका छन्। आफ्नै देशका जनताको मानव तस्करी गरेको विषयलाई गम्भीरतापूर्वक लिनु पर्ने आवाज पनि उठेका छन् र यही सिलसिलामा शनिवार नागरिक अगुवाहरूले भ्रष्टाचार ढाकछोप विरुद्ध वृहत् नागरिक आन्दोलन सुरु गरेका छन्। शनिवार भएको प्रदर्शनमा सामेल भएका एक नागरिक अगुवा चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी बारे हाल आएका विषयमा विस्तृत छानबिन गर्न सकारले खुट्टा कमाउन नहुने बताएका छन्।

'सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्छ र दोषी ठहरिए कारबाही गर्नु पर्छ,' केसीले भने। 'ठुला नेताहरू भ्रष्ट नभईकन साना तहका नेता/ कार्यकर्ताहरूले भ्रष्टाचार गर्न हिम्मत गर्दैनन्।'

नागरिक प्रदर्शनीमा सामेल भएका पूर्व सांसद ले भट्टराईले पनि अस्थिर सरकार भएकाले भ्रष्टाचार विरुद्ध निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे।

यस विषयमा सडक र सदन दुवैमा चर्चा चलेको छ। सदनमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी नक्कली भुटानी शरणार्थी प्रकरणमा अत्तालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि छानबिन गर्न पर्ने माग गरे। उनले तत्कालीन समयका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नाम समेत मुछिन थालिएको र स्वीकार गर्ने क्रम जारी भएको अवस्थामा तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताए। 'त्यति बेलाको प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ। अनि मात्रै भ्रष्टाचारीको अनुहार कस्तो छ? त्यो कुरा पत्ता लाग्न सक्छ।'

यस्तै नेपाली काँग्रेसका संसद् रामहरि खतिवडाले पनि सदनमा बोल्दै दोषीलाई कारबाही गर्न माग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो विषयमा अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा चासो लिएको बताए। 'मिलीजुली एक अर्कालाई बचाउने काम नहोस्। हामी यसलाई अत्यन्तै नियाली रहेका छौँ।'

नेकपा एमालेले भुटानी शरणार्थीको विषय बाहेक भ्रष्टाचारसँग जोडिएका अन्य विषयका फाइल पनि सरकारले खोल्न पर्ने बताएको छ। केही दिन अघि एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्प कमल दाहालले भुटानी शरणार्थी प्रकरण उनको सरकारले भ्रष्टाचार विरुद्ध थालेको कामको सुरुवात मात्र भएको र सिङ्गो फिल्म हेर्न बाँकी रहेको बताएका थिए। प्रधानमन्त्रीकै शब्दमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सदनमा भने, 'हामी टिकट काटेर बसेका छौँ। हामीलाई विश्वास छ अब लडाकु शिविरको घोटाला, वाइड बडी घोटाला, बाँसबारी जग्गा काण्ड, सीसीटीभ फुटेज र बजेटमा बिचौलिया लिएका काण्डहरूमा छानबिन गरौँ।'

सरकारले भने भुटानी शरणार्थी प्रकरणमा तटस्थ छानबिन हुने दाबी गरेको छ। सङ्घीय राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, 'सरकारले तटस्थ छानबिन गर्नेछ। निर्दोष व्यक्ति डराउन जरुरी छैन तर दोषी भने उम्कने छैनन्।'

हालसम्म प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा केशव दुलाल, सानु भण्डारी, सागर राई, टङ्ककुमार गुरुङ, इन्द्र जित राई, टेकनारायण पाण्डे, सन्देश शर्मा लगायतलाई हिरासतमा लिएको छ।



बजेट अधिवेशन सुरु

सङ्घीय संसद्को बजेट अधिवेशन यो साता सुरु भएको छ। जस अन्तर्गत अर्थमन्त्री प्रकाश शरण महतले बजेटका प्राथमिकता र सिद्धान्त सदनमा पेस गरेका छन्। अर्थमन्त्रीले पेस गरेको प्राथमिकता र सिद्धान्त कर्मकाण्डी दस्ताबेज मात्रै रहेको प्रतिपक्षी दलले लगाएका छन्। प्रतिनिधिसभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उक्त दस्ताबेजले मुलुकको अर्थतन्त्र सुधार गर्नेमा विश्वस्त हुन नसकेको बताए।

उनकै दलका सांसद स्वर्णिम वाग्लेले चाहिँ देशको अर्थतन्त्रले अहिले सर्जरी खोजको अवस्थामा झारफुक गरे ठिक हुन्छ कि भनेर लाग्न नहुने बताए। 'यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माता शासकीय व्यवस्थामाथि नै अविश्वास भइसकेको छ। अब सुधार्ने, सप्रिने र सच्चिनेको विकल्प छैन।'



रेमिटेन्समा वृद्धि

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा रेमिटेन्स आउने क्रममा वृद्धि भएको अधिकारीहरूले बताएका छन्। चालु आर्थिक वर्ष २०७९/८०को ९ महिनाको अवधिमा रेमिटेन्स आउने क्रम २४.२ प्रतिशतले बढेको सरकारी आँकडाले देखाएको छ। नेपाल राष्ट्र ब्याङ्कले बुधवार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चैत महिनासम्म ९खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ। यस्तै यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५९.५ प्रतिशतले बढेको र पुन:श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५.५ प्रतिशतले बढेको छ।



LISTEN TO
nepali_070523_NepalWrap image

पुरा रिपोर्ट सुन्नुहोस्

11:18
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share