Feature

भुटानको राष्ट्रिय दिवसको अवसरमा विशेष नागरिकता वितरण समारोह, नेपाली सहित ४० जना बने अस्ट्रेलियाको नयाँ नागरिक

भुटानको ११२ औँ राष्ट्रिय दिवसको सन्दर्भ पारेर बुधवार मेलबर्नमा आयोजित एक विशेष अस्ट्रेलियाली नागरिकता वितरण समारोहमा भुटानी एवं क्यारेन (बर्मेली) शरणार्थी तथा नेपाली गरी ४० जनाले अस्ट्रेलियालाई आफ्नो नयाँ देशको रूपमा अङ्गीकार गरेका छन्।

Special citizenship ceremony BHUTAN NEPAL

Source: आभास पराजुली/एसबीएस

हेल्प हिमालयन युथ फाउन्डेसनद्वारा अस्ट्रेलियाली अध्यागमन विभागसँगको सहकार्यमा आयोजित एक विशेष नागरिकता वितरण समारोहमा १५ भुटानी र ८ बर्मेली शरणार्थीहरूका साथै १७ जना नेपाली पृष्ठभूमिका मानिसहरूले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

भिक्टोरियामा कुनै पनि सामुदायिक संस्थाले यसरी नागरिकता वितरण गर्न पाएको यो नै पहिलो अवसर रहेको उक्त संस्थाका संस्थापक अध्यक्ष परशुराम शर्मा लुइँटेलले एसबीएस नेपाली बताए।

“सौभाग्यकै कुरा हो कि सरकारले हामी जस्तो सानो सामुदायिक संस्थालाई ट्रस्ट गरेर सीटिजेन (शिप समारोह) गर्न दिनु; हाम्रो पाराले, हाम्रो हिसाबले, हाम्रो रीतिरिवाजले,” उनले समारोहको विशेषता बारे प्रकाश पार्दै भने।
Special citizenship ceremony BHUTAN NEPAL Australian Ceremony
Citizenship Ceremony Source: Abhas Parajuli
“(अहिलेसम्म) स्पोर्टिङ्ग क्लबले गर्‍यो, काउन्सिलले गर्छ (नागरिकता समारोह); हामीले होम अफेयर्ससँग मिलेर पहिलो पटक आफ्नो पारा सिटिजेनशिप सेरोमोनि गर्दछौँ।”

भुटानको राष्ट्रिय दिवस मनाउँदा नयाँ के गर्न सकिन्छ भनेर छलफल गर्दा आफ्नै देशबाट विस्थापित भएका भाइबहिनीहरूलाई नयाँ देशको नागरिकता लिँदै गरेको हेर्ने अभिलाषा रहेको पनि लुइँटेलले खुलाए।

उक्त समारोहमा मोरल्याण्ड सिटी काउन्सिलका मेयर ल्याम्ब्रोस तापिनोस् तथा उप-मेयर ओस्कार यिल्दिज, मानवअधिकार कर्मी एवं फुटबल खेलाडी हाकिम अल-अरीबी, सङ्घीय सांसद मारिया भाम्भाकिनोउ, भिक्टोरियाली नागरिकता सम्बन्धी निर्देशक जेरेमी स्टोक्स, फेडेरेसन अफ एथेनिक काउन्सिल अफ अस्ट्रेलियाका प्रमुख जो कापुतो लगायतको उपस्थिति थियो।
Special citizenship ceremony BHUTAN NEPAL
समारोहमा उपस्थित अतिथिगण Source: आभास पराजुली/एसबीएस

यसरी नयाँ नागरिकको स्वागत गर्दा अस्ट्रेलियाली राजनीतिका दुवै पक्ष एक रहेको देखाउँदै सङ्घीय लेबर सांसद भाम्भाकिनोउले अध्यागमन मन्त्री डेभिड कोल्न्यानको पत्र पढेर सुनाएकी थिइन्।

“म आफैँ पनि सन् १९७४ मा यसरी नै अस्ट्रेलियाली नागरिक बनेको हुँदा तपाईँहरूलाई कस्तो महसुस भइराखेको छ, त्यो मलाई राम्ररी थाहा छ।”

“पासपोर्ट अस्ट्रेलियन भए पनि मन त नेपाली नै हुन्छ नि!”

Special citizenship ceremony BHUTAN NEPAL
आयुष थापा र सृष्टि श्रेष्ठ Source: आभास पराजुली/एसबीएस
१० वर्ष अगाडी अस्ट्रेलिया आएका मनिष ढुङ्गेलले चाहिँ नेपालको नागरिकता छाड्नु पर्ने भएकाले अलि कता-कता नमज्जा लागेको बताए।

सँगसँगै बसेका आयुष थापा र सृष्टि श्रेष्ठले अस्ट्रेलिया आएर यहीँ जीविकोपार्जन गर्दा अस्ट्रेलियन नागरिकताले जीवन अझ सहज बन्ने भएकाले आफूहरूले नेपाली नागरिकता त्यागेको बताए।

“अभियस्ल्ली नराम्रो त लागि हाल्छ (नेपाली नागरिकता छोड्दा) तर होपफुल्ली ड्युल सिटिजेनशिप आउला भन्ने आस (छ),” थापाले आफ्नो निर्णय बारे स्पष्ट हुँदै भने।

चार वर्ष अघि नेपाल छाडेका राजेशकुमार कायस्थ “राज” भने अस्ट्रेलियाको नागरिकता सम्बन्धी नियमहरू निकै द्रुत गतिमा परिवर्तन भएका कारण आफूले नेपाली नागरिकता त्याग्दै यहाँ नयाँ नागरिक बनेको बताउँछन्।

“पीआर मात्रै भएर पछि (सुविधाहरू) हटाइदियो भने के गर्ने भनेर … बाबु अलरेडी सिटिजेन छ हैन, उसको भविष्यको लागि लिएको हामीले,” उनले एसबीएस नेपालीसँग भने।
उहाँहरूसँग गरिएको कुराकानी सुन्न यहाँ थिच्नुहोस्
“नेपालमा पनि ड्युल सिटिजेन(को नियम) भए हुन्थ्यो, (नेपाली नागरिकता) गिभ अप गर्न चाहिँ मन लाग्दैन हगि!” कायस्थकी श्रीमती मञ्जु श्रेष्ठले थपिन।

उनले नेपाल र अस्ट्रेलियाको हाल विद्यमान परिस्थितिहरूको आङ्कलन गर्दा अस्ट्रेलियाली नागरिक बन्नु आफ्नो लागि उपयुक्त लागेको पनि बताइन।

“पासपोर्ट अस्ट्रेलियन भए पनि मन त नेपाली नै हुन्छ नि!” श्रेष्ठले हाँस्दै भनिन्।

Special citizenship ceremony BHUTAN NEPAL
कायस्थ दम्पती सङ्घीय सांसद मारिया भाम्भाकिनोउका साथ Source: Abhas Parajuli


यस्तै धारणा अर्का एक जोडीको पनि रहेको थियो - गङ्गाकुमारी अधिकारी र खेम मिश्रले अस्ट्रेलिया मै जन्मेकी आफ्नी छोरी कै लागि अब अस्ट्रेलियाली नागरिक बनेको बताए।

नेपालमा गणतन्त्र स्थापना पछि पनि स्थायित्व, अमन चयन र शैक्षिक क्षेत्रमा अझै उल्लेखनीय सुधारहरू नदेखिएकाले नेपाली नागरिकता छाड्ने आफूहरूको निर्णय सही नै जस्तो लागेको मिश्रको भनाई रहेको थियो।

तर, यसो भनिरहँदा देश र आफू जन्मेको माटोको मायामा कुनै कमी नहुने दाबी पनि उनले गरे।

“जसरी भए पनि नेपाल पहिला नै हुन्छ … यो कर्मभूमि भयो … जन्मभूमिले अन्तर्मनबाट कता कता राम्रो गरिदिए हुन्थ्यो … नेपालले एक चोटि जित्दिए चाहिँ अलिकति गौरव हुन्थ्यो कि?,” मिश्रले जन्मेको देश नेपाल र नयाँ नागरिकता अङ्गीकार गरेको अस्ट्रेलिया बिच आसन्न फुटबल खेलबारे आफ्नो धारणा बाँड्ने र मन भित्र अझै नेपाली ढुकढुकी रहेको प्रमाण पेस गर्ने प्रयास गर्दै भने।

सङ्घर्षै सङ्घर्षको जीवन



भुटानबाट नेपाल हुँदै अस्ट्रेलिया आइपुगेका बुद्धि माझी यहाँको नयाँ नागरिक बन्न पाउँदा हर्ष विभोर थिए।

“धेरै खुसी छु, आज। नेपाल गएर २२ वर्ष बस्यौँ र (यहाँ) आयौँ - त्यो सङ्घर्षै सङ्घर्षको जीवन बितायौँ। यहाँ आएर अहिले हामी राम्रो छौँ…गभरमेन्टलाई नै म चाहिँ थ्याङ्क यु भन्न चाहन्छु,” उनले एसबीएस नेपालीलाई भने।

त्यस्तै धारणा प्रियांकल राईको पनि रहेको थियो।

“अब (अधिकार प्राप्त) सिटिजेन हुँदा राम्रो फील हुँदो रहेछ,” उनले आफ्नो धारणा व्यक्त गरिन।
Special citizenship ceremony BHUTAN NEPAL Citizenship Pledge
अस्ट्रेलियाली नागरिकताको शपथ लिंदै Source: आभास पराजुली/एसबीएस
उता, मोहन फुयाँल भने स्वतन्त्र राष्ट्रमा स्वतन्त्र नागरिक बन्न पाउने सपना पुरा भएको बताउँछन्।

“म आज एकदमै प्राउड महसुस गरिरहेको छु। अब घुम्न पाइन्छ जस्तो लाग्छ, रमाइलो लागिरहेको छ,” उनले भने।

त्यसै गरी १०-१२ वर्ष अघि अस्ट्रेलिया आइपुगेका राजकुमार राईले पहिले पहिले यहीँ बसिन्छ जस्तो अनुभूति आफ्नो नरहेको बताए।

रहँदा बस्दा अस्ट्रेलिया मन परेको र सोही कारण आफूले यहाँको नयाँ नागरिक बन्ने पहल गरेको पनि उनले हामीसँगको कुराकानीका क्रममा खुलाए।

“आफ्नो त त्यस्तै हो, छोरा-छोरीको भविष्य चाहीं राम्रो हुन्छ जस्तो लाग्छ।”
BHanu Adhikari
भानु अधिकारी Source: एसबीएस नेपाली
उता, भुटानी शरणार्थी पुनर्वास कार्यक्रम अन्तर्गत सबैभन्दा पहिला अस्ट्रेलिया आएका भानु अधिकारीले मुक्त कण्ठले अस्ट्रेलियाली सरकार र जनताको प्रशंसा गरे।

“म (हामी) पहिलो परिवार, (अस्ट्रेलिया आउने) यो थर्ड कन्ट्री सेटलमेन्टमा, पहिले धेरै अनौठो लागेको थियो तर रहँदा बस्दा धेरै सजिलो पनि रहेछ। धेरै अफ्ठेरो लागेको थियो, तर (सबैको सहयोगका कारण) सजिलो भयो,” उनले एसबीएस नेपालीलाई भने।

“यत्तिका वर्षसम्म हामी नागरिकता विहीन भएर बस्यौँ, भुटानले भन्थ्यो हामीलाई अनागरिक … नेपालमा त रेफ्युजी भएर बसियो, त्यहाँ नागरिकता पाउने कुरा आएन, हामी चाहिँ एउटा स्टेट लेस - नागरिकता विहीन जिन्दगी यत्तिका वर्ष बिताएर, अब चाहिँ अस्ट्रेलियालाई आफ्नो घर भन्न पाउँदा उहाँहरू (अब अस्ट्रेलियाली नागरिक बनेका भुटानी शरणार्थीहरू) खुसी हुनुपर्छ र आफ्नो जिन्दगीलाई कसरी हुन्छ अगाडी बढाउनु पर्छ।”
Special citizenship ceremony BHUTAN NEPAL
नागरिकता वितरण समारोहमा नव अस्ट्रेलियाली नागरिकहरूलाई हाकिम अल-अरीबीले भकुण्डो चिनो स्वरुप दिएका थिए Source: आभास पराजुली/एसबीएस
एम्नेस्टी इन्टरनेशनलका एक जना अधिकारी डा ग्राहम थोमका अनुसार अझै १०,००० भुटानी शरणार्थीहरू देश विहीन अवस्थामा क्याम्प मै रहेका छन् र भुटानले उनीहरूलाई फिर्ता लिने बारे कुनै चासो देखाएको छैन।

“प्रति व्यक्तिको दरमा हेर्ने हो भने भुटान संसारकै सबैभन्दा धेरै शरणार्थी उत्पादन गर्ने देशहरू मध्ये कै एक हो। उसले आफ्नो कूल जनसङ्ख्याको ६ भागको एक भागलाई आफ्नो देशबाट निष्कासित गरेको थियो,” उनले भने।

“बाँकी रहेका जातीय अल्पसङ्ख्यकहरूको स्थिति राम्रो छैन, उनीहरू माथि देश छाड्न निकै दबाब छ किनकि उनीहरू त्यहाँ स्वतन्त्र छैनन् - शिक्षा, स्वास्थ्य सेवा र भ्रमणमा रोकटोक छ।”

अस्ट्रेलियाली नागरिकता: आफ्नो आवाज सुनाउने अवसर

Special citizenship ceremony BHUTAN NEPAL
Source: आभास पराजुली/एसबीएस


अस्ट्रेलियाली नागरिकता लिनु सुविधा मात्र नभएको बुझ्नु जरुरी रहेको परशुराम शर्मा लुइँटेलले आफ्नो स्वागत मन्तव्यका क्रममा उक्त नागरिकता समारोहमा उपस्थित नयाँ अस्ट्रेलियाली नागरिकहरूलाई भने।

“तपाईँ (अस्ट्रेलियाली नागरिक बन्नु अगाडी) राज्य विहीन मानिस हुनुहुन्थ्यो वा अन्य कुनै अन्य राष्ट्रको, आजको दिन तपाईँ हामी सबै अस्ट्रेलियनका लागि गर्व गर्ने दिन हो। म तपाईँ हामी जस्तो आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई के सम्झाउन चाहन्छु भने हामी अस्ट्रेलिया प्रति कृतज्ञ हुनै पर्दछ र यसका लागि हामीहरूले सदैव अस्ट्रेलियाको समग्र विकासमा सक्दो योगदान पुर्‍याउन कुनै कमी गर्न पाइँदैन,” उनले भने।

विशेष गरी, पुनर्वासका लागि युरोप लागिएका नेपाली मूलका भुटानी शरणार्थीहरूले अझै नागरिकता नपाएको चर्चा गर्दै उनले अस्ट्रेलियाको सरकार र जनता दुवैले यहाँ आइपुगेकाहरूलाई खुल्ला हृदयले स्वागत गरेकोमा उनले धन्यवाद ज्ञापन गरे।
Special citizenship ceremony BHUTAN NEPAL
समारोहका क्रममा नेपाली नृत्यहरू पनि प्रस्तुत गरिएका थिए Source: SBS Nepali / Abhas Parajuli
यसका साथै, लुइँटेलले अस्ट्रेलियाको नागरिकता लिँदैमा आफू जन्मेको माटोलाई कहिल्यै पनि भुल्न नहुने विचार अगाडी सारेका थिए।

“जुन दिन तपाईंले आफू आएको देश बिर्सनुहुनेछ, तपाईँसँग बाँकी केही पनि हुनेछैन आफ्नो सन्तानलाई तपाईँको आफ्नो इतिहास बारे बताउने कुरा र त्यो क्षण साह्रै नमिठो हुनेछ,” उनले आफ्नो सम्बोधनका क्रममा भने।

यसै गरी, भिक्टोरियन मल्टीकल्चरल कमिसनका एक जना आयुक्त व्वे थ्येले अस्ट्रेलिया विविध परिस्थिति विभिन्न मुलुकहरूबाट आएका मानिसहरूले बनेको बताउँदै सोही कारणले यहाँ सामाजिक एकता परिष्कृत रहेकोमा जोड दिए।

“आजको यस समारोहबाट पनि प्रस्ट भएको छ कि हामी को बन्ने भन्दा पनि को हौँ भन्ने कुरा कत्तिको महत्त्व राख्दछ भनेर,” उनले उक्त समारोहमा प्रस्तुत गरिएको नाचगान तर्फ इङ्गित गर्दै भने।
Special citizenship ceremony BHUTAN NEPAL
आयुक्त व्वे थ्ये Source: आभास पराजुली/एसबीएस
सङ्घीय सांसद मारिया भाम्भाकिनोउले यसरी विविध पृष्ठभूमिका मानिस अस्ट्रेलियाली नागरिक बन्नु नै अस्ट्रेलियाको सफलताको सूत्र भएको बताइन्।

उता, मोरल्याण्ड सिटी काउन्सिलका मेयर ल्याम्ब्रोस तापिनोसले बुधवारदेखि ४० जनाको आप्रवासी जीवनको टुङ्गो लागेर अस्ट्रेलियाली नागरिक बन्दै नयाँ अध्याय सुरु भएकोमा शुभकामना व्यक्त गरेका थिए।

“अस्ट्रेलियाको नागरिक बन्दै गर्दा तपाईंले आजदेखि अस्ट्रेलियाली मूल्य मान्यतालाई सम्मान गर्दै, त्यसको पक्षमा उभिने प्रण गर्नुपर्दछ,” उनले भने।

“अस्ट्रेलियाले तपाईँहरूको प्रतिबद्धतालाई सह्राना गर्दछ र हामी तपाईँहरू आ-आफ्नो समुदायमा कटिबद्ध भएर योगदान दिन प्रोत्साहन गर्दछौँ।”
Special citizenship ceremony BHUTAN NEPAL
Source: आभास पराजुली/एसबीएस



Share
Published 19 December 2019 6:59pm
Updated 22 January 2020 2:27pm

Share this with family and friends