Analysis

"म गलत थिएँ": प्रधानमन्त्रीले न्युज कर्पसँग मागे माफी, विपक्षी असन्तुष्ट

स्कट मोरिसनले न्युज कर्प समक्ष सार्वजनिक रूपमा माफी मागेका छन्।

SBS News in Macedonian 24 March 2021,

Prime Minister Scott Morrison at a press conference at Parliament House in Canberra, Tuesday, March 23, 2021. Source: AAP

प्रधानमन्त्रीले संसद् भवनमा महिलाहरूको व्यवहार सम्बन्धी प्रश्नहरूको उत्तर दिने क्रममा आफ्नो "संवेदनहीन प्रतिक्रिया" को लागी माफी मागेका हुन्।

मङ्गलवार क्यानबेरामा आयोजित एक पत्रकार सम्मेलनमा न्युज कर्पका राजनैतिक सम्पादक एन्ड्रु क्लेनेलले स्कट मोरिसनलाई "के तपाईंले आफ्नो मन्त्रीय कर्मचारीहरू माथिको नियन्त्रण गुमाउनु भएको हो?" भनेर सोधेका थिए।

यस भन्दा अघि, निकै भावुक रूपमा प्रस्तुत भएका प्रधानमन्त्री मोरिसनले, उक्त प्रश्न सोधिए लगत्तै एकाएक आक्रामक शैलीमा प्रस्तुत भएर वरिष्ठ पत्रकार क्लेनेललाई "होसियार रहन" चेतावनी दिएका थिए।

उनले न्युज कर्पमा कथित रूपमा घटेको एक आन्तरिक यौन उत्पीडनको घटना सार्वजनिक गर्दै भने, "अहिले, तपाई आफ्नो सङ्गठन बारे सचेत हुनुहुन्छ होला, जहाँ एक व्यक्ति माथि महिला शौचालयमा एक महिलालाई दुर्व्यवहार गरेको भनेर उजुरी परेको छ।"

"र, त्यो मामिला तपाईँको मानव संसाधन विभागले हेर्दै छ। त्यसैले हामी सबै जो सिसाको घरमा बस्छौँ, उनीहरूले यस्तो कुरा नगरे नै बेस।"
तर, मङ्गलवार दिउँसो नै न्युज कर्प अस्ट्रेलियाका कार्यकारी अध्यक्ष माइकल मिलरले त्यस प्रकारको कुनै पनि उजुरी माथि छानबिन नभइरहेको एक विज्ञप्ति मार्फत स्पष्ट पारे।

"स्कट मोरिसनले आज एक महिला शौचालयमा एक कर्मचारीद्वारा अर्को एक महिला माथि उत्पीडन गरेको आरोप लगाउँदै अनुसन्धान भइरहेको दाबी गर्नु गलत थियो। कुनै गुनासो प्राप्त भएको छैन अनि न्युज कर्प र स्काई न्युजले यस्ता उजुरी बारे कुनै अनुसन्धान गरिरहेका छैनन्, ”उनले भनेका छन्।
मिलरका अनुसार, मानिसहरूद्वारा यस्ता मामिलाहरू सुरक्षित रूपमा निर्धक्क भएर उठाउन सक्ने सिद्धान्तलाई मोरिसनले गरेका टिप्पणीहरूले कमजोर तुल्याउने काम गर्छन्।

यसपछि, प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलवार ‌अबेर राती आफ्नो टिप्पणीहरू सही नरहेकोमा दुःख मनाउ गर्दै एक विज्ञप्ति जारी गरेका थिए।

"आजको मिडिया कन्फरेन्समा प्रश्नहरूको जवाफ दिने क्रममा, न्युज लिमिटेडका पत्रकारले सोधेको एउटा प्रश्नलाई बेवास्ता गरेर मैले असंवेदनशिल प्रतिक्रिया दिएकोमा म निकै दुखी छु र त्यसो गर्दा मैले एक गुमनाम घटनालाई आधार बनाएको थिएँ जसलाई सो कम्पनीले अस्वीकार गरेको छ," उनले वक्तव्यमा उल्लेख गरेका छन्।

"म उनीहरूको कुरा स्विकार्छु। मैले त्यसरी कुरा उठाउनु गलत थियो, आवेगमा आएर त्यसो गरेँ भन्नु कुनै जायज बहाना होइन।"
मोरिसनले उक्त घटनामा संलग्न सबै जनासँग माफी माग्दै अगाडि भनेका छन् कि उनले त्यसरी सो मुद्दा उठाउन मिल्दैन थियो र बिना अनुमति त हुँदै हुँदैन थियो।

यस बारे प्रतिपक्षी नेताहरूले जमेर प्रधानमन्त्रीको आलोचना गरेका छन्।

ग्रिन्सका नेता एडम ब्यान्ड्टले स्कट मोरिसनको माफी पर्याप्त नभएको बताएका छन्।

उनी भन्छन् कि मोरिसनले रुपर्ट मर्डक (न्युज कर्पका मालिक) सँग तत्काल झुके तर ब्रिट्नी हिगिन्ससँग भने अहिलेसम्म माफी मागेका छैनन्।

ब्यान्ड्टका अनुसार प्रधानमन्त्रीले त्यस्तो झुटो कुरा कसरी बोलियो भनेर संसद्लाई सम्बोधन गर्नुपर्छ।

"उनले यस्ता बनावटी कुरा त्यति सहजै भन्छन् भने सार्वजनिक रूपमा अन्य कति झुटा कुरा बोले होलान्?," ब्यान्ड्टले भने।
उता, प्रमुख विपक्षी पार्टी लेबरले प्रधानमन्त्रीले उत्पीडनको दाबीलाई हतियार बनाएको आरोप लगाएको छ।

"प्रधानमन्त्रीले हिजो के गरे भन्ने कुरासँग एउटा गहन समस्या छ ... हामी यहाँ संसद् भवनको संस्कृति बारे एक ठुलो समीक्षामा संलग्न छौँ। त्यो समीक्षामा भाग लिनका लागि, र आफ्नो कथा निर्धक्क भएर गोप्य तरिकाले भन्न सक्छु भन्ने विश्वास हुनु जरुरी छ," लेबरकी महिला मामिला हेर्ने नेतृ तानिया प्लिबर्सेकले भनिन्।

"प्रधानमन्त्रीले हिजो गरेको कुराले यसलाई वास्तवमै क्षति पुर्‍यायो।"
Deputy Labor leader Tanya Plibersek.
Deputy Labor leader Tanya Plibersek. Source: AAP
स्कट मोरिसनलाई प्रतिपक्ष मात्रै होइन, आफ्नै पार्टीका सदस्यहरूबाट पनि रोष तेर्सिएको छ।

न्यु साउथ वेल्स राज्य संसद्मा नर्थ कोस्टबाट संसद् सदस्य बनेकी क्याथरिन कुस्याकले मङ्गलवार राती ट्विटर मार्फत निन्दा गरेकी छिन्।

कुस्याक भन्छिन् कि प्रधानमन्त्रीले समस्या बुझेकै छैनन्।

"प्रिय प्रधानमन्त्री, म तपाईँको श्रीमती/आमा/छोरी होइन। म एक महिला लिबरल सांसद हुँ," उनले आफ्नो ट्विट सन्देशको सुरुमा लेखेकी छिन्।

"मलाई थाहा छ कि तपाईँले पनि आफ्नो परिवारलाई मैले जस्तै माया गर्नुहुन्छ र (मलाई तपाईँलाई थाहा छ) कि तपाईँको उद्देश्य सही छ तर तपाईँले हाम्रो राजनीतिक अनुभवहरूको बारे केही पनि बुझ्नुहुन्न। कृपया तपाईँका महिला सांसदहरूसँग कुरा गर्नुहोस्। यदि उनीहरू सुरक्षित महसुस गर्छन् भने उनीहरूले तपाईँलाई भन्नेछन्! "
कुस्याकले ट्विट गर्दा मोरिसनको क्षमा याचना आइसकेको थिएन।

यता, यो सबै सुरु भएको प्रश्न सोध्ने एन्ड्रु क्लेनेलले भने प्रधानमन्त्री स्कट मोरिसनले व्यक्तिगत रूपमा आफूसँग पनि माफी मागिसकेको बताएका छन्।

"आशा छ कि हामी सबै प्रधानमन्त्रीको दुर्भाग्यपूर्ण रोषबाट अगाडि बढ्न सक्नेछौँ," क्लेनेलले बुधवार स्काई न्युजमा बोल्दै भने।

Share
Published 24 March 2021 2:04pm


Share this with family and friends