अस्ट्रेलियाको आर्थिक विकासका लागि आप्रवासीहरुको महत्व बुझ्न आग्रह

कोरोनाभाइरस महामारी पछि देशको अर्थतन्त्रलाई उकास्न अस्थायी आप्रवासीहरूलाई अस्ट्रेलियाले आफ्नो मुख्य रणनीति भित्र राख्नुपर्ने बताइएको छ।

Australian Visa

Source: Pixabay/Nel Botha

कमिटी फर दि इकोनोमिक डिभलप्मे्न्ट अफ अस्ट्रेलिया (सेडा)ले सोमबार एक रिपोर्ट सार्वजनिक गर्दै महामारी पछि राष्ट्र पुनर्निर्माणका क्रममा अस्थायी आप्रवासीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएको हो।

"लेबर मार्केट पोलिसी आफ्टर कोभिड-१९: इमिग्रेसन एन्ड कोभिड-१९" नामक सो प्रतिवेदनका अनुसार संसारभर नै आप्रवासन सम्बन्धी नीतिहरू कडा हुँदै गइराखेको परिप्रेक्ष्यमा अस्ट्रेलियाले भने दक्ष आप्रवासनलाई बढवा दिएर कोरोनाभाइरस महाविपत्तिबाट पार पाउनुपर्छ।

रिपोर्टले अस्ट्रेलियामा बहुराष्ट्रिय व्यवसायहरूको सञ्चालन विस्तारमा सहयोग पुर्‍याउन सङ्घीय सरकारलाई नयाँ "इन्ट्रा-कम्पनी ट्रान्सफर" भिसा लागू गर्न आग्रह गरेको छ।

इन्ट्रा-कम्पनी ट्रान्सफर भिसा मार्फत एक कम्पनीका लागि काम गर्न भनी आएका दक्ष तथा अस्थायी आप्रवासीले अर्को कुनै कम्पनीमा गएर काम गर्न बाटो खुल्नेछ।

अन्य राष्ट्रका तुलनामा अस्ट्रेलियाले महामारी रोकथाम तथा नियन्त्रणमा पाएको उल्लेखनीय सफलताका कारण आफूलाई अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष कामदारका लागि एक आकर्षित गन्तव्यका रूपमा स्थापित गर्न सक्षम भएको र त्यसबाट प्राप्त भएको मौकाको सदुपयोग गर्न पनि उसले "अबका केही महिना भित्रै" आफ्नो प्रणालीहरूलाई चुस्त दुरुस्त पार्नुपर्ने सो प्रतिवेदनले बताएको छ।
सेडाका प्रमुख अर्थशास्त्री ज्यारड बल भन्छन् कि अन्तर्राष्ट्रिय सीमाहरू खुल्नुपुर्व नै अस्ट्रेलियाले आफ्नो दक्ष आप्रवासन प्रणालीलाई सुधार गरिसक्नुपर्छ।

"यो अवधि हामीले आफ्नो स्किल्ड माइग्रेसन सिस्टम सुधार गर्नका लागि सुनिश्चित गर्नुपर्दछ ताकि जब सीमाहरू फेरि खुल्नेछन् तब अस्ट्रेलिया उत्तम तथा उज्ज्वल मानिसहरूका लागि छनौटको गन्तव्य बन्नेछ," उनले भने।

यसका साथै विशेष गरी रोजगारी गुमाएका र सीमा बन्द भएका कारण आफ्नै देश फर्कन नसक्ने अस्थायी आप्रवासीहरूलाई जबकीपर तथा जबसीकर जस्ता सामाजिक लाभका सरकारी सहयोगका लागि योग्य ठहराउनुपर्ने सुझाव पनि सेडाले दिएको छ।

न्युजिल्यान्ड, क्यानडा र संयुक्त अधिराज्य सबैले अस्थायी आप्रवासीलाई पनि आफूहरूको अनुदान कार्यक्रमका लागि योग्य ठहर गरेको बताउँदै अस्ट्रेलियाले पनि सोही मार्ग अवलम्बन गर्नुपर्ने बताएको छ।

"अस्ट्रेलियाले पनि ढिलाइ नगरी त्यसो गर्नुपर्दछ," प्रतिवेदनमा भनिएको छ।
महामारी अगाडि नै स्थापित र हालसम्म पनि चलिरहेको अस्थायी बसाई सम्बन्धी सिनेटको अनुसन्धानले पनि यसभन्दा अघि आप्रवासनलाई अस्ट्रेलियाको पुनर्निर्माणको महत्त्वपूर्ण हिस्सा बनाउन आह्वानहरू सुनिसकेको छ।

सन् २०२०/२१ मा अस्ट्रेलियाको कूल आप्रवासन दर ८५ प्रतिशतसम्मले घट्ने बताइएको छ र चालू तथा आगामी आर्थिक वर्षमा ५० अर्वसम्मले राष्ट्रिय आम्दानीमा गिरावट आउने अनुमानहरू यस अघि सार्वजनिक भइसकेको छ।

गत हप्ता मात्र सरकारले अस्ट्रेलियामा विशिष्ट अस्थायी आप्रवासीहरूलाई आकर्षित गर्न नयाँ प्राथमिकता सीपको सूची घोषणा गरेको थियो जसमा नर्स, डाक्टर र सफ्टवेयर इन्जिनियरहरू लगायतका समावेश गरिएका छन्।

कोरोनाभाइरस महामारीका लागू विविध प्रतिबन्ध पछि विदेशमै रहन बाध्य भएका तथा उच्च माग रहेका दक्ष कामदारहरूलाई अस्ट्रेलिया फर्किन विशेष छुट प्रदान गर्ने सङ्केत कार्यवाहक अध्यागमन मन्त्री एलन टजले बुधवार दिएका हुन्।

टजका अनुसार सरकारले छिट्टै सार्वजनिक गर्ने नीति अन्तर्गत यसरी विशेष छुट पाएर अस्ट्रेलिया फिर्ने अस्थायी भिसा धारकहरूले १४ दिने क्वारेन्टिन सम्बन्धी सम्पूर्ण खर्च स्वयम्ले नै व्यहोर्नु पर्नेछ।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

 


 

 

 

 

 

 

 


Share
Published 14 September 2020 7:03pm
Updated 16 September 2020 10:36am
By Maani Truu


Share this with family and friends